भाद्र २३, २०७२- जिल्ला प्रशासन कार्यालय सप्तरीले भारदहमा थप हिंसा हुन सक्ने भन्दै बुधबार दिउँसो २ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवका अनुसार भारदह बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
उत्तरमा पोर्ताह गाविस भवनदेखि ५ सय मिटर उत्तरसम्म, पश्चिममा ट्याम्पो स्ट्यान्डदेखि ५ सय मिटर दक्षिणसम्म, पूर्वमा कंकालीनी मन्दिरदेखि ५ सय मिटर पूर्वसम्म र दक्षिणमा चकरदहीको पुलदेखि ३०० मिटर दक्षिणसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी कार्यालयले कोशी व्यारेजदेखि बलान खोलासम्म राजमार्गको पाँच सय मिटर दायाँबायाँ निषेधित क्षेत्र तोकिएको छ ।
...
सप्तरीको भारदमा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ । गोली लागेर सप्तरीको पोर्ताह गाविस- १ का ६० वर्षीय रामकिसुन राउनको मृत्यु भएको छ ।
भारदहमा नै भदौ १ गते प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको थियो ।
...
मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरु राजमार्ग केन्द्रित भएपछि मंगलबार राति प्रहरी स्कर्टिङमा समेत सवारीसाधन सञ्चालन हुन सकेन । सप्तरी अन्तर्गत पूर्व–पश्चिम राजमार्ग खण्डको विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेपछि प्रहरी स्कर्टिङमा पनि सवारीसाधन सञ्चालन हुन नसकको हो ।

यता निरन्तरको बन्दका कारण यहाँको जनजीवन अक्रान्त बन्दै गएको छ । बाटोमा रहेको ढुंगा, काठको मुढा लागयतका अबरोध हटाउन खोज्दा कञ्चनपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । दुबै तर्फबाट ढुंगा हानाहान भइरहेको छ ।
आज बिहान साढे नौबजे प्रहरीले राजमार्गको अवरोध हटाउन खोज्दा भारदहमा प्रहरी र प्रदशर्नकारीबीच झडप भएको छ । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगा हानेपछि भीडलाई तितिरबितर पार्न प्रहरीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
अश्रुग्यास लागेर एकजना प्रदर्शनकारी सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले १० राउन्ड हवाइ फयार गरेको छ ।
२६ दिनदेखि बजार पसल बन्द गराए पनि मागबारे सुनवाई नभएको भन्दै सप्तरीमा प्रदर्शनकारीहरुले आन्दोलनलाई राजमार्ग केन्द्रित बनएका छन् । भारदहमा एक दर्जन रुखहरु ढालेर राजमार्ग अवरुद्ध बनाइएका छन् । मोटो मोटो रुखहरु बाटोमा ढालेपछि राति बाटो सुचारु गर्न सम्भव नभएको हो ।

यस्तै भारदह, कञ्चनपुर, कदमाहा तथा रुपनीमा राजमार्गमै पाल टाँगेर प्रदर्शनकारी बसेका छन् । उनीहरुले प्रदर्शनस्थलमै खाना पकाउने, खाने व्यवस्था मिलाएका छन् ।
पूर्वबाट प्रहरी स्कर्टिङमा आएका ५ सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बसलाई सुनसरीको झुम्कामै रोकिएको छ । यस्तै पश्चिमबाट प्रहरीले ल्याएको सवारीसाधन सिरहाको मिर्चैयामा रोकिएको छ । 'सवारीसाधन जसरी पनि सञ्चालनमा ल्याउनु भन्ने माथिको आदेशको छ,' सप्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, 'रोकिएको गाडी सञ्चालनको व्यवस्था मिलाउँदै छु ।'
'प्रशासनले जसरी पनि गाडी सञ्चालनमा ल्याउने र प्रदर्शनकारीहरु जसरी पनि सञ्चालन गर्न नदिने भनि अडानबीच बुधबार सप्तरीमा ठूलो झडप हुने सम्भावना छ,' नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, 'मुठभेड भन्दा वार्ता र सहमतिमा समस्या समाधान गर्नु उचित हुने छ ।'