हुन त ‘तेवर’ फिल्म सुटिङताका सोनाक्षीको नाम को–स्टार अर्जुन कपुरसँग छोटो समयका लागि नजोडिएको हैन। दुई बीच डेटिङ चलिरहेको र अधिकांश समय सँगै देखिनुले पक्कै पनि लभ अफेयर्समा रहेको अड्लबाजी चले। तर फिल्मको प्रदर्शनसँगै सबै अड्लबाजी हावामै उडे। उक्त गसिपका कारण अहिले पनि सोनाक्षीको पारा तात्छ रे। ‘दुई जवान एक्टर जो सिंगल स्टाटसमा रमाइरहेका हुन्छन्, सँगै काम गरेको देखिनै हुन्न। मान्छेहरू त्यस्तो गठबन्धनलाई रुचाउनै सक्दैनन् भन्या। अर्जुनसँगको हल्ला पनि त्यही भयो,’ सोनाक्षीले हालैको एक च्याट सोमा पुरानो कुरा सम्झँदै भनिन्, ‘हामी सँगै फिल्म गरिरहेका थियौं। र, अर्को कुरा ऊ मेरो छिमेकी पनि हो। म बस्ने घरकै पछाडि ऊ पनि बस्छ। यस्तोमा भेटघाट हुनु स्वाभाविक हो। कुनै प्रेम नै हुनुपर्छ भन्ने लाग्दैन।’
सोनाक्षीले आफू अन्य कलाकारहरूजस्तो जटिल खालकी नभएको जिकिर गर्दै को–स्टारसँग सौहार्दपूर्ण वातावरण बनाउन र कुराकानी गर्न रुचाउने स्वभाव रहेको पनि प्रस्ट्याइन्। गसिप मच्चाउनेका लागि इंगित गर्दै सोनाक्षीले थपिन्, ‘त्यसैले पनि म एक्टरसँग बिहे गर्दिनँ। एक त उनीहरू प्राय: कम्प्लिकेटेड हुन्छन्। त्यस्ताका लागि म फिट हुनै सक्दिनँ। किनकि म आफू पनि त्यस्ती छैन र मेरो चाहना पनि त्यस्तो व्यक्ति जो साधारण र सोझो होस्। बुझ्नै नसकिने कम्प्लिकेटेड खालको नहोस्।’ अब यी ‘दबंग’ गर्लले आफूले चाहेजस्तै सिधासादा युवक कहाँ र कहिले फेला पार्ने हुन्? उनै जानून्।