जताततै मलको हाहाकार


भाद्र २३, २०७२- बेलहरीका बच्चन खाँले ५ बिघामा धान खेती गरेका छन् । त्यसका लागि ७ बोरा युरिया मल आबश्यक पर्छ । तर, उनले बिहीबारसम्म १ बोराभन्दा बढी पाएका छैनन् । ‘गाउँका सहकारीले दिएनन् । नाका बन्दले गर्दा रुपैडिहा (भारत) बाट समेत ल्याउन पाइएन,’ उनले भने ।
मल नपाएपछि खाँ नेपालगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा धाएको तीन दिन बितिसक्यो । कम्पनीले सिधै किसानलाई मल दिँदैन । गाउँका सहकारीमार्फत किसानले मल पाउने हुन् । तर, कृषिले थरुहट र मधेसवादी दलहरूको अनिश्चितकालीन बन्दले मल आपूर्ति हुन नसकेको जवाफ दिने गरेको छ । ‘यसपालि समयमै वर्षात नहुँदा धान खेती प्रभावित भएको थियो,’ खाँले भने, ‘त्यसैमा समयमा मल नपाउँदा खेती बर्बाद हुने भयो ।’
जिल्ला कृषि विकास कार्यालयका अनुसार यसपालि बाँकेको ३६ हजार हेक्टरमा धान खेती भएको छ । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र प्रधानले सुरुवातमा धान खेतीको तयारी गर्दा, त्यो हुर्केको एक महिनापछि र पसाउँदै गर्दा अर्कोपटक गरी तीन पटक मल छर्नुपर्ने बताए । ‘मलले धानलाई हरियो बनाउँछ । जराबाट आवश्यक तत्त्व र घामबाट खाना लिएर यसको विकास हुन्छ,’ उनले भने, ‘तर, मल छर्ने मुख्य सिजनमै अभाव हुँदा यसले उत्पादनमा कमी आउन सक्छ ।’
बाँकेका किसानले आवश्यकता अनुसार मल प्रयोग गर्दैनन् । झन्डै ४२ प्रतिशतमा मात्र मल प्रयोग हुन्छ । त्यसैमा अभाव हुँदा खेती प्रभावित हुने आशंका बढेको हो । कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रमुख मोहन केसी धान खेतीका लागि हजार टन युरिया मल आवश्यक पर्ने तर अहिलेसम्म ५ सय २ टन मात्रै आपूर्ति भएको बताए ।
‘भैरहवा डिपोमा मल थन्किएको छ,’ उनले भने, ‘प्रशासनले ल्याउन पहल गरिरहेको छ । तर, ट्रक धनीले बन्दमा गाडी चलाउन नमान्दा समस्या भएको हो ।’ मधेसवादी दलहरूले नाकाहरूमा समेत कडाइ गर्दा सीमावर्ती भारतीय बजारबाट किसानले मल ल्याउन सकेका छैनन् । बाँकेमा डीएपी र पोटास भए पनि युरिया मलको अभाव खटकएको कृषिले जनाएको छ ।
बाँकेमा मात्र होइन, अहिले बर्दियामा पनि धान हलक्कै बढेको छ । रासायनिक मल हाल्ने बेला भइसक्यो । तर, यही बेला मल नपाउँदा किसान चिन्तामा छन् । धानलाई चाहिने युरिया मल लिन गुलरिया आएका पदनाहा ४ का किसान हरिराम थारू मंगलबार रित्तै घर फर्के । कृषि सामग्रीमा पटक पटक सम्पर्क राख्दा पनि
मल नभएको जवाफ पाए । उनी जस्ता बर्दियाका सयौं किसान मल खरिद गर्न नपाएपछि छटपटीमा परेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेका प्रमुख नरहरि पोखरेलका अनुसार भैरहवा डिपोमा पर्याप्त मात्रामा मल छ । सुरक्षा निकाय एस्कर्टिङ गरी ल्याउन तयार छ । तर ट्रक धनीले असुरक्षाका कारण ढुवानी गर्न मानेका छैनन् । बन्द नखुलेसम्म सवारी धनीले मल ल्याउने सम्भावना निकै कम रहेको उनको भनाइ छ ।
धानका लागि जिल्लामा करिब एक हजार टन रासायनिक मलको आवश्यकता पर्छ ।
गोदाममा रहेको ४ सय टन तीन साताअघि किसानले खरिद गरेर लगिसकेका छन् । पाँच सय टन युरिया मल आपूर्ति भए धानलाई पुग्ने कृषिका प्राविधिक बताउँछन् । युरिया मल नपाएका किसानले भारतीय सीमावर्ती गाउँबाट गुणस्तरहीन मल भित्र्याउन थालेको कृषि प्राविधिकले बताए । भारतबाट मल भित्र्याउँदा प्रहरीले पक्राउ गर्ने गरेको गुनासो किसानको छ । भारतबाट भित्रिने गुणस्तरहीन मलले खेतीयोग्य जमिनलाई क्षति पुर्‍याउनुका साथै अन्नबालीलाई असर पार्ने गरेको प्राविधिकको भनाइ छ । कृषि विकास कार्यालयका अनुसार बर्दियामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।
दाङमा पनि लामो समय बन्द हुँदा रासायनिक मलको अभाव छ । धानको वृद्धिसँगै मल हाल्नुपर्ने समय भए पनि जिल्लाका सबै गोदामहरूमा मल सकिएको छ । कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले जिल्लामा मल आपूर्ति गर्दै आएका छन् ।
तत्काल साल्ट ट्रेडिङमार्फत मात्रै कम्तीमा ४ हजार बोरा मल वितरण हुने अवस्था भए पनि बन्दका कारण सम्भव नभएको शाखा प्रबन्धक मनोज चौधरीले बताए । ‘मल कृष्णनगरमा थन्किएको छ । ट्रकहरूले जानै मानेका छैनन्,’ उनले भने, ‘किसानहरूले मल खोजिरहेका छन् । मल चाहियो भन्छन् ।
यहाँ एक सातादेखि गोदाम खाली छन् ।’
अहिले धानमा मल हाल्ने बेला भएकाले अब ढिलो गरी मल आएमा त्यसको उपयोग हुनै नसक्ने कृषि सामग्रीका निमित्त शाखा प्रबन्धक प्रकाश डाँगीले बताए । ‘गाउँगाउँबाट मलका लागि फोन आइरहेको छ । किसानहरू धानमा टप गर्न आतुर छन् तर मल नै आउन सकेको छैन,’ उनले भने, ‘अब मल आउन सकेन भने किसानलाई काम लाग्दैन । धान बालीमा असर पर्छ ।’
जिल्लामा धान, गहुँ र तोरीका लागि नै मल बढी आवश्यक पर्ने गरेको उनले बताए । तरकारी खेतीका लागि नियमित मल चाहिने र धानका लागि रोपाइँपछि यतिबेला नै बढी चाहिने डाँगीले बताए ।