भाद्र २३, २०७२- जर्मनीले बर्सेनि कम्तीमा पनि ५ लाख शरणार्थीलाई शरण दिन सक्ने जनाएको छ । उपचान्सलर सिगमार गाब्रियलले कैयौं वर्षसम्म उक्त संख्यामा शरणार्थीलाई प्रवेश दिन सक्ने बताएका हुन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आगामी ५ वर्षमा २० हजार शरणार्थी लिने जनाएपछि जर्मनीको यस्तो प्रतिक्रिया आएको हो । फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डले पनि दुई वर्षमा २४ हजार शरणार्थीलाई प्रवेश दिने घोषणा गरिसकेका छन् ।
फ्रान्सका अधिकांश जनता शरणार्थीलाई प्रवेश दिन नहुने पक्षमा देखिएका छन् । टर्कीको समुद्री किनारमा ३ वर्षीय बालकको शव फेला परेपछि गरिएको सर्वेक्षणमा ६२ प्रतिशत फ्रान्सेलीले सिरियाबाट प्रवेश गरेकाहरूलाई अन्य आप्रवासीसरह व्यवहार गर्नुपर्ने बताएका थिए ।
राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग यूएनएचसीआरका अनुसार ग्रिसले अहिले सबैभन्दा बढी शरणार्थी संकट सामना गरिरहेको छ । ग्रिसमा ३० हजार शरणार्थी प्रवेश गरेका छन् ।
तीमध्ये लेस्बोस टापुमा मात्र २० हजारभन्दा बढी छन् । ग्रिसका एक मन्त्रीले टर्कीनजिकको टापु लेस्बोसमा विस्फोटक भएको बताएका छन् । त्यहाँ यूएनएचसीआरले शरणार्थीका लागि थप कर्मचारी र डुंगा तैनाथ गरेको छ ।
त्यहाँ रहेका शरणार्थीहरूले आफूहरूलाई एथेन्समा सारिनुपर्ने माग गर्दै प्रदर्शन पनि गरेका छन् । लेस्बोस १ लाख जनसंख्या भएको ग्रिसको टापु हो । त्यहाँ अधिकांश सिरिया, इराक, अफगानिस्तानका शरणार्थी छन् ।
युरोपेली सीमा एजेन्सी फ्रन्टेक्सले ग्रिसलाई थप अध्यागमन जाँच अधिकृतहरू उपलब्ध गराउने जनाएको छ । ती अधिकारीहरू लेस्बोस र कोस टापुमा कार्यरत रहनेछन् । फ्रन्टेक्सका निर्देशक फाब्राइस लेगारीले भने, ‘ग्रिसले अहिले आप्रवासी समस्याको सामना गरिरहेको छ ।’
सोमबार मात्र मेसेडोनियामा सिरियाका ७ हजार शरणार्थी भित्रिएका थिए । जर्मनीले शरणार्थीलाई स्वागत गरिरहेका बेला हंगेरीले भने शरणार्थी प्रवेशमा रोक लगाउन सीमामा कडाई गरेको छ ।
हंगेरी र सर्बियाको सीमामा रहेका हजारौं शरणार्थी मंगलबार प्रहरी घेरा तोडदै अगाडि बढेका थिए । उनीहरू हंगेरीको रोज्स्केस्थित किसानका खेततर्फ भागेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । शरणार्थीको सोमबार पनि प्रहरीसँग झडप भएको थियो । हंगेरीले भने आफूले युरोपेली युनियनको नियम कार्यान्वयन मात्र गरेको बताएको छ ।
सेन्जेन असफल हुने चेतावनी
यसैबीच, युरोपमा लागू गरिएको खुला सीमासम्बन्धी सेन्जेन प्रणाली असफल हुन सक्ने चेतावनी राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी विशेष प्रतिनिधि पिटर सुदरल्यान्डले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकहरूले आप्रवासी समस्यालाई संयुक्त नीतिद्वारा सम्बोधन नगरिने हो भने सेन्जेन प्रणाली असफल हुन सक्ने बताएका हुन् ।
यसैबीच, युरोपमा लागू गरिएको खुला सीमासम्बन्धी सेन्जेन प्रणाली असफल हुन सक्ने चेतावनी राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासनसम्बन्धी विशेष प्रतिनिधि पिटर सुदरल्यान्डले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकहरूले आप्रवासी समस्यालाई संयुक्त नीतिद्वारा सम्बोधन नगरिने हो भने सेन्जेन प्रणाली असफल हुन सक्ने बताएका हुन् ।
सेन्जेन प्रणालीलाई युरोपेली युनियनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि मानिन्छ । युद्धग्रस्त मुलुकबाट आएका लाखौं शरणार्थीलाई प्रवेश गर्न दिने मामलामा युरोपेली मुलुकहरू एकमत छैनन् ।