विद्यार्थीका लागि तेरिया

भाद्र २२, २०७२- डान्स इन्डिया डान्स लिटिल च्याम्प उपाधि पाएकी तेरिया मगर ‘यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर माइतीघर माइतीघर...’ गीतमा नाच्दै मञ्चमा देखिँदा त्रिवेणी उच्च माविको प्रांगणमा भेला भएका सयौं दर्शक उत्साहित भए। पानी झमझम परिरहेको थियो, उनीहरूले बेवास्ता गरिरहे।

असहाय, अपांग, द्वन्द्वपीडित तथा अनाथ बालबालिकाका लागि स्थापित छात्रवृत्ति कोष सहयोगका लागि तेरियाले सदरमुकाममा कौशल देखाएकी हुन्। धनकुटाको त्रिवेणी सांस्कृतिक समूह र काठमाडौंको ओजेड इभेन्ट्सले आयोजना गरेको ‘तेरिया नृत्य तथा सांस्कृतिक साँझ’ मा चार हजारभन्दा बढीले उनको नृत्य कौशलको मीठो अनुभव गरे ।  श्रीकृष्ण जन्माष्टमीको छेक पारेर गरिएको कन्सर्टमा नरमाउने दर्शक थिएनन् । 

‘असहाय, अपांग, द्वन्द्वपीडित, अनाथ, गरिब तथा जेहनदार विद्यार्थीका लागि सहयोग गर्न भनिएपछि भित्री मनदेखि नाच्न मन लाग्यो,’ तेरियाले भनिन् । १२ वर्षे तेरियाले निकै नेपाली तथा हिन्दी गीतमा नृत्य गरिन् । साँझ ढिलो गरी सुरु कार्यक्रममा उनी नाच्दानाच्दै रात छिप्पिँदै गए पनि उनमा थकान देखिँदैनथ्यो । कार्यक्रमलाई तेरिया साँझ भनिए पनि राष्ट्रिय स्तरका अन्य कलाकर्मी समेत सहभागी थिए ।

गायिका सत्यकला राईले आफ्ना लोकप्रिय गीतहरू सुनाइन् ।  ‘हङकङ आईडीले...’, ‘ढडिया थापिदेऊ...’, ‘मेरो देश हाम्रो देश हामी सबैको देश...’, ‘तिमी मसँग नबोल्ने अरे’ लगायत सुनन पाउँदा धेरै दर्शकश्रोता नोस्टाल्जिक भए। यसै गरी, गायिका अञ्जु गौतम, बालकलाकार 
सुविका राईसहित त्रिवेणी सांस्कृतिक समूह र धरानको डीटु क्रेजी डान्स सेन्टरका कलाकारहरूले पनि प्रस्तुति दिए। कन्सर्टबाट संकलितमध्ये १ लाख रुपैयाँ जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने असहाय, अपांग, द्वन्द्वपीडित, अनाथ, गरिब तथा जेहनदार विद्यार्थीको छात्रवृत्तिस्वरूप प्रदान गरिएको ओजेड इभेन्ट्सका युवराज घिमिरेले जानकारी दिए।