अमेरिकामाथि दबाब बढ्यो , शरणार्थीको ओइरो

भाद्र २४, २०७२- ४० लाख सिरियाली आफ्नो थातथलो छाडेर अन्य देशमा शरणार्थी बनिसकेका छन्। तीमध्ये ०.०३ प्रतिशतलाई मात्र अमेरिकाले शरण दिएको छ।
उक्त संख्यालाई दयनीय मान्दै अमेरिकाभित्रै थप शरणार्थी लिन दबाब तीव्र भएको छ। रिपब्लिकन र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका आकांक्षीद्वय डोनाल्ड ट्रम्प र मार्टिन ओ मेली पनि थप सिरियाली शरणार्थी लिनुपर्ने पक्षमा देखिएका छन्। यद्यपि, कति संख्यामा लिने र त्यसबाट कस्तो जोखिम निम्तिने भन्नेबारे अन्योल कायमै छ।
हालसम्म १ हजार ५ सय सिरियालीले अमेरिकामा शरण पाएका छन्। जबकि, जर्मनीले ८ लाखलाई शरण दिने घोषणा गरिसकेको छ। टर्की, जोर्डन र लेबनानमा लाखौं सिरियाली छन्। अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले अमेरिकालाई थप ६५ हजार शरणार्थीका लागि ढोका खुला गर्न आह्वान गरेको छ। ‘इतिहास हेर्ने हो भने अमेरिकाले शरणार्थी पुनर्वासका लागि विश्वकै नेतृत्व गरेको छ,’ समितिका अध्यक्ष डेभिड मिलिब्यान्डले भने, ‘४ वर्षे सिरियाली संकटमा भने त्यही अमेरिका नेतृत्व छाडेर निष्क्रिय बसेको छ।’
राष्ट्रपति बाराक ओबामा प्रशासनले सिरियालीलाई सहयोगका लागि मनस्थिति बनाएको बताउँदै आएको छ। स्टेट डिपार्टमेन्टका प्रवक्ता जोन किर्बीको भनाइमा हालको संख्यालाई दोब्बर अर्थात् ३ हजार पुर्‍याउने सोच छ। शरणार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइँदै आएको राष्ट्रिय सुरक्षा परिषद्को भनाइ छ। ‘अमेरिकाले ४ वर्षयता सिरियालाई ४० अर्ब डलर बराबरको मानवीय सहायता उपलब्ध गराइसकेको छ,’ परिषद्का प्रवक्ता पिटर बुगार्डले भने, ‘सिरिया संकटमा अमेरिका एक्लो र ठूलो दातृ मुलुक हो।’
बाधक तत्त्व
सिरियाली शरणार्थीको थप संख्यालाई प्रवेश दिँदा अतिवादी गतिविधि बढ्ने शंकामा अमेरिकी अधिकारी देखिन्छन्। रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका अर्का आकांक्षी मार्को रुबियो आफैं पनि आप्रवासीका सन्तान हुन्। ‘यसमा अमेरिकाले सावधानी अपनाउनै पर्छ,’ रुबियोले भने ।
शरण मागिरहेकाहरूको संख्या ठूलो रहेको बताउँदै उनले तीमध्ये कोही आतंककारी हुन सक्ने कुरामा विचार पुर्‍याउनुपर्ने बताए। अमेरिकी भूमि टेक्न पाएका सिरियाली शरणार्थीका लागि लामो सुरक्षा जाँच पार गर्नुपर्छ। शरणार्थी दर्जा पाएकाले पनि १८ महिनापछि मात्र अमेरिका टेक्न पाउँछन्। डेमोक्रेटिक पार्टीका राष्ट्रपति आकांक्षी ओ मेली आईआरसीको आग्रह अनुसार ६५ हजार शरणार्थी लिन अमेरिका तयार हुनुपर्ने पक्षमा छन्।

न्युजर्सीका गभर्नर क्रिस क्रिस्टीको भनाइमा राष्ट्रपति ओबामाले सिरियाली संकटमा बलिया कदम उठाउन सकेका छैनन्। जसले आम सिरियालीलाई संहार हुनबाट रोक्न सकेको छैन। ‘म इमानदारीसाथ भन्छु, अमेरिकी राष्ट्रपतिले कसरी यति ठूलो मानवीय संकटका लागि अनुमति दिन सक्छ,’ क्रिस्टीले भने। ओबामा प्रशासनमा विदेश मन्त्रीको भूमिका निर्वाह गरिसकेकी हिलारी क्लिन्टन अहिले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको आकांक्षी हुन्। सिरियाली शरणार्थी संकटमा भन्दा ज्यादा आक्रामक राष्ट्रपति बसार अल असदको तानाशाही व्यवस्थाविरुद्ध प्रस्तुत हुनुपरेकाले यस्तो स्थिति देखिएको हिलारीको भनाइ छ।