भाद्र १६, २०७२- धरहरा ढलिरहेको थियो। कोही सेल्फी खिच्न आउँथे त कोही दुर्गति हेर्न। छेउमै मम व्यापार गरिरेहका एक नेवारको चाहना धरहरा फेरि उठाउने नभएको होइन, तर, एक्लैले केही सिप नलागेपछि उनी देखेको नदेखेझैं गरिरहेका थिए। उनकै छेउमा नाई थिए, तराई मूलका। अर्का एक तामाङ भरिया घरीघरी आफ्नो बहादुरी फुकिरहेका हुन्थे। लडिरहेको धरहरा भने कसैले उठाउने आँटसम्म गरेको थिएन। भीमसेन थापा नाम गरेका वृद्धले बारम्बार पुकार्दै थिए– ‘धरहरा उठाऊ।’
दृश्य गाईजात्रे प्रहसनको हो। नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी ‘तीतो, जिरे मेरी बास्सै गाईजात्रा महोत्सव’ राष्ट्रिय भाव बोकेको यस्तै प्रस्तुतिसहित मुलुकको समसामयिक अवस्थाप्रति चिन्ता व्यक्त गरिएका दृश्यहरू हेर्न पाइन्छ। यी सबै प्रस्तुतिको ध्येयचाहिँ सांस्कृतिक, राजनीतिक, आर्थिक लगायत समाजको हरेक समसामयिक पाटोमाथि व्यंग्य कस्दै सुधारको बाटोतिर उत्प्रेरित गराउनु हो। यस पटकको गाईजात्रा महोत्सव समसामयिक विषय ‘भूकम्पको प्रभाव’, ‘संविधान मस्यौदा’, ‘संघीयता’ र ‘अस्तव्यस्त राजनीतिक गतिविधि’ मा केन्द्रित छ। ‘तीतो सत्य’ समूहले गरेको ‘धरहरा’ प्रहसनमा प्रदेशले देश टुक्रयाउने होइनन् भन्ने भाव प्रस्टयाउन खोजिएको छ।
दीपकराज गिरी, दीपाश्री निरौला, सुरवीर पण्डित, लक्ष्मी केसी, पूर्ण थापा, रवि डंगोल, आरपी भट्टराई, प्रमोद पौडेल लगायतले अभिनय गरेको यो प्रहसन व्यंग्यात्मकसँगै सन्देशमूलक छ। तराईको मधेसी समुदायको प्रतिनिधिका रूपमा दीपकले मनछुने अभिनय
गरेका छन्। दीपाले अभिनेत्री रेखा थापा र सडक सफा गर्ने कूचीकार गरी दुई भूमिकामा अभिनय गरेकी छन्। लडिरहेको धरहरा उठाउन सबै जात, धर्म, समुदाय र संस्कृतिका मान्छेलाई अनुरोध गरिरहँदा सबैले आ–आफ्नो प्रदेशको मात्रै मोह देखाइरहनुले राष्ट्र र राष्ट्रियाप्रतिको चिन्तालाई बलियो बनाउँछ। तर, अन्तिममा आदर्शवादी ढंगले सबै एकजुट हुन्छन् र धरहरा उठाउँदै ‘पहिला देश अनि प्रदेश’ भन्ने नारा लगाउँछन्।
हरेक वर्ष हुँदै आएको महोत्सवका प्रहसनहरू प्राय: यथार्थभन्दा आदर्शवादी सन्देशमै गएर टुंयाउने गरिन्छ। ‘धरहरा’ ले पनि त्यसैलाई निरन्तरता दिएको छ। करिब चार घन्टाको प्रहसनमा ‘मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ का कलाकारले आ–आफ्ना प्रतिभा खुलेर देखाएका छन्। व्यंग्यात्मक नृत्य र गीत पनि मसलाको रूपमा हेर्न सकिन्छ।
‘मेरी बास्सै’ का केदार घिमिरे (माग्ने बूढा), विल्सनविक्रम राई (तक्मे बूढा), सुनीता गौतम लगायतले ‘अचम्मको पोको’ थिममा प्रहसन पस्किरहेका छन्। विषयचाहिँ अलिक काल्पनिक लाग्छ। मेसिनको प्वालबाट छिरेपछि अर्कै मान्छे निस्किने प्रविधिको यहाँ बढी चर्चा हुन्छ। ‘मेसिन’ लाई राजनीति र नेताहरूको चरित्रको प्रतीकको रूपमा प्रतिविम्बित गरिएको छ यो प्रहसनमा। राष्ट्रियता र राष्ट्र भाव दर्साउन खोजिए पनि दोहोरो अर्थ लाग्ने शब्द र संकेतहरूको प्रयोगले प्रहसन केही अश्लील लाग्छ। परिवारसँग हेर्न असजिलो महसुस हुन्छ।
‘जिरे खुर्सानी’ समूहबाट ‘पाल’ थिममा प्रहसन प्रस्तुत छ। भूकम्प गएपछि पालभित्र देखिएका गतिविधि व्यंग्यात्मक ढंगले देखाइएको छ यो प्रस्तुतिमा। तर, त्यहाँ पनि यौन हाउभाउलाई नै प्राथमिकता दिइएको छ। पालभित्र विभिन्न जात–जाति ठाउँको खोजीमा झगडा गर्नुलाई संघीयताको सीमांकन विवादसँग मिलाउन खोजिएको छ। अन्त्यमा ‘पाल’ लाई नेपालको संकेत गरी देशको संरक्षण गरे सबै सुरक्षित भइन्छ भन्ने सन्देश दिन खोजिएको छ।
मनोज गजुरेल यसपटक मन्त्री लालबाबु पण्डितको अवतारमा भेटिन्छन्। उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नेताको क्यारिकेचर गरेर ‘दाता सम्मेलन’ माथि व्यंग्य पनि हानेका छन्। सुमन केसीको समूहले नृत्य र टीका भण्डारी लगायतका गायकले गीतमार्फत
दर्शकश्रोतालाई अडयाउन भूमिका खेलेका छन्। राजा राजेन्दरले उद्घोषण गर्दागर्दै हँसाउँछन्।