भाद्र २२, २०७२- दुईचोटी ढलेको धरहरालाई अब पुन:निर्माण नगरौं । ०९० सालमा ढलेको भीमसेन स्तम्भलाई भूकम्पपश्चात फेरि ठडाइयो, बार्दली थपेर । बिगुल फुक्ने काममासीमित त्यो बार्दली बन्यो, नेपाली पर्यटकको आकर्षणको थलो । काठमाडौं अवलोकन गर्ने थलो । ०७२ सालको भूकम्प बैसाख १२ गते शनिबारको दिन गएकाले स्कुल जाने धेरै बालबालिकाको ज्यान जोगियो । तर शनिबारकै दिन अत्यधिक भीड हुने धरहरा धेरैको ज्यान लिने धराप बनिदियो । भूकम्पको पहिलो झट्कामै गर्लाम्मै ढल्यो धरहरा, केवल ठुटो बाँकी राखेर ।
अब फेरि नबनाऔं धरहरालाई । कारण धेरै छन् । पहिलो त काठमाडौं उपत्यका अवलोकन गर्नका लागि ‘धरालो’भन्दा धेरै अग्ला ठाउँ अब बनिसके, खचाखच कोचिएको । दोस्रो, अझै महत्त्वपूर्ण कारण हो, धरहराको उपादेयता अब त्यही ठुटोमा छ । आन्तरिक पर्यटक तान्ने हिसाबले होस् कि दुई घिसँ्रदै गरेको ‘टेक्टनिक प्लेट’ले घरिघरि निम्त्याउने भूकम्पबाट जोगिन घच्घचाउने निसानी बन्नका लागि । प्रकृतिले हामीलाई परेको चोटबाट माथि तर्किन, सकेसम्म छिटो त्यो तीतो घटनालाई बिर्साउन कोसिस गर्छ । र हामी विस्तारै पहिलेको स्थितिमा फर्कन्छौं । यसपालीको महाभूकम्प आएको डेड सय दिन हुनलाग्दा हाम्रो मस्तिष्कबाट बिस्तारै त्यो पहिलो हप्ताको त्रास मेटिँदैछ । परिवारजन गुमाएकाका लागि र झन्डै रोजैजसो परकम्पन खेप्न बाध्य भएकाका लागि यो प्रक्रिया लम्बिन सक्छ । तर तीन हप्ताअघि काठमाडौंकै मुनि धक्का हान्दा फेरि मन अति त्रसित पारेको थियो ।
यो बाहेक धेरैजसो काठमाडौंवासीहरूले विस्तारै भुल्न थालिसके भूूकम्पको मार । यसरी बिर्सनु स्वाभाविक हो । तर आउने पुस्तालाई भूकम्पले गर्नसक्ने धनजनको क्षतिबारे पाठ सिकाइराख्नुपर्ने हुन्छ । सम्झाइरहनुपर्छ । यसपालीको भूकम्पले काठामाडौंलाई त हदै माया गरेको हो । तर भविष्यमा पनि त्यस्तै होला भन्न सकिन्न । नक्सा मिचेर चाहिनेभन्दा बढी तला थपेका, फाइदा कमाउन मापदण्ड अनुसारको डन्डी, सिमेन्ट नहालेका घरहरू महाभूकम्पमा गर्लामगुर्लुम हुने आशंका थियो । भाग्यले त्यसो हुन पाएन । तर भोलि पनि त्यसैगरी घर बनाउँदा लापरबाही नगर्न, विपद् पर्दा ओत लाग्ने खुल्ला ठाउँको व्यवस्था गर्न, पुरातात्त्विक महत्त्वका स्थलहरूको समय—समयमा मर्मत—सम्भार गर्न, धेरै मानिस उपस्थित हुने सार्वजनिक भवनहरू निर्माण हुँदा कडा निगरानी गर्न, एक टकले हामीलाई औंला ठड्याउने काम गर्न सक्छ, धरहराको ठुटोले ।
प्रदर्शनीले मन छुनुपर्छ र मनमा केही डर सिर्जना गर्नुपर्छ, ताकि त्यो हेरेर बाहिरिँदा सबैको मनमा, ‘मेरो परिवारको कोही पनि भूकम्पको सिकार हुनदिने छैन’ भन्ने भावना उब्जिओस् । रह्यो कुरो पर्यटनको । धरहरा वा ‘धरालो’ नेपालीहरूको लागि एउटा पर्यटकीय गन्तव्य थियो । चढ्न नपाएका बेला टोपी झर्नेगरी नियाल्ने, चढ्न अनुमति पाएपछि माथिबाट उपत्यकाको तीन सहर नियाल्ने । धरहराको ठुटोलाई ठूलो काँचको छानो हालेर, त्यो ठुटोलाई रिङ्गै घुमेर अवलोकन गर्न मिल्ने प्लेटफर्म बनाएर र त्यसको वरिपरि माथि वर्णन गरेअनुसार प्रदर्शनी राखियो भने आन्तरिकमात्र नभई बाह्य पर्यटकहरू पनि हुल बाँधेर आउनेछन् ।
मलाई पनि सानैदेखि देखेको धरहराको माया लाग्छ । तर त्योभन्दा माया मलाई भविष्यका हजारांैं काठमाडौं र अन्तका वासिन्दाको लाग्छ, जसको ज्यान जोगाउनुछ । भूकम्पले उब्जाउने त्रासदीबाट अनि भवनको भग्नावशेषले ती वासिन्दालाई थिचेर ज्यान नलेओस् । र त्यस्तो परिस्थिति पनि नआओस्, जब ०७२ सालको भूकम्पमा जस्तै भवनमुनि पुरिएर बचाइने आस गरेर बस्न परोस् वा त्यसरी पुरिँदा बाँच्ने आसै मारेर आफ्नो सास रोक्दै ज्यान त्याग्न कोसिस गर्न परोस् । भूकम्पको सम्झना ताजा राख्ना कुनै नयाँ संरचना बनाएर पुग्दैन । हामीमध्ये कतिजनाले भूगोल पार्क गएर ०९० सालको महाभूकम्पको सम्झना दिलाउने स्तम्भ हेरेका छौं ? भूकम्पले गर्न सक्ने विध्वंसको बारेमा मनन गरेका छौं ? त्यसैले धरहरालाई नबनाऔं, त्यसलाई ठुटो नै राखौं । यसलाई ०७२ सालको भूकम्पको चिनोको रूपमा ठुटो नै रहन दिऔं ।