भाडा लागू भएन

आश्विन ७, २०७२- यात्रुवाहक गाडीमा नयाँ भाडादर लागू गरेको दुई साता बिते पनि त्यसको पूर्णरूपमा कार्यान्वयन गर्न सरकार चुकेको छ। सरकार र यातायात व्यवसायीले योपल्ट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्झौता गरेका थिए।
विभागका अनुसार मंगलबारसम्म गाडीमा बढी भाडा उठाउने ३ सय ५० सवारी साधनमाथि कारबाही गरिसकिएको छ। महानगर, उपमहानगर र नगरपालिकामा गुड्ने गाडीले आफ्नो रुट ग्रामीण क्षेत्रको हो भन्दै बढी भाडा उठाउन छाडेका छैनन्।
उपत्यकाभित्र चल्ने तीनपाङ्ग्रे टेम्पोले न्यूनतम भाडा १३ रुपैयाँ उल्लेख गरे पनि बढी पैसा उठाउँदै आएको भेटिएको छ। अनुगमन शाखाका प्रमुख वसन्त अधिकारीले भने, ‘४ किलोमिटरसम्म न्यूनतम १३ रुपैयाँ हो। जावलाखेलबाट बानेश्वर आउँदा करिब ४ किलोमिटर छ। तर यहाँ १८ रुपैयाँ भाडा लिएको पाइयो।’ उनले सरकारी भाडादरभन्दा पनि टेम्पो चालकहरूले आफ्नै भाडादर राखेको बताए। ‘अब हामीले रुटसँगै एक ठाउँबाट अर्को स्थानमा जान किलोमिटर पनि तोक्नुपर्ने भएको छ,’ अधिकारीले भने।
विभिन्न बहाना बनाउँदै गाडीका केही चालक र सहचालकले यात्रुलाई ठगिरहेका छन्। बढी भाडा लिएकामा गाडीको बिलबुक र चालकको लाइसेन्स लिइन्छ र ५ हजार रुपैयाँ जरिवाना गरिन्छ। तर समितिले ५ हजार रुपैयाँ तिरेर कागजपत्र फिर्ता ल्याउने भएकाले चालकहरू गैरजिम्मेवार रूपमा प्रस्तुत भएको अनुगमन टोलीले जनाएको छ।
गाडी व्यवसायी समितिले गाडीमा नयाँ भाडादर टाँसेका छैनन्। नयाँ भाडादर लागू भएको ११ औं दिन मंगलबारसम्म प्रहरीको नम्बर १०३ र मीनभवनस्थित विभागको टेलिफोन नम्बर ४४७९९९४ मा गुनासा आइरहेका छन्। सरकारले भदौ २५ बाट सवारी साधनको नयाँ भाडादर लागू गरेको थियो।