गाईजात्रामा गाईको अपिल

गाईजात्रामा गाईको अपिल

-
भाद्र ११, २०७२-
प्रिय मान्छेहरू,
गाईगोरु मुक्तिमोर्चाका तर्फबाट हार्दिक ड्वाँ..तथा हब्बाँ...। प्रकृतिले तपाईं मान्छेहरू र हामी गाईगोरुबीच मैत्रीपूर्ण सम्बन्ध बनाइदिएको छ, तर मानव विकास क्रममा हाम्रो प्राकृतिक सम्बन्धलाई अप्राकृतिक बनाउन मान्छेको एउटा तप्का लाग्दै आएको छ । यसले गर्दा हाम्रो पहिचान, आत्म–सम्मान र स्वाभिमान नै खतरामा पुग्न गयो । तसर्थ आफ्नो अस्तित्व रक्षाका लागि गाईजात्राको अवस पारेर बीस सूत्रीय माग पेस गरेका छौं ।

१. मान्छेहरूको अकर्मण्यतालाई ‘गाईजात्रा’ भनिदिनाले हामी गाई र जात्रा दुवैको बदनाम भएको छ । नेताले नाम बिगारे ‘नेताजात्रा’ भनियोस्, जनताले काम बिगारे ‘जनताजात्रा’ भनियोस् ।

२. परम्परागत गाईजात्रा पर्वमा हाम्रो स्वास्थ्य, शिक्षा एवं सुरक्षाको पनि कार्यक्रम राखियोस् । गाईजात्रे कार्यक्रमबाट उठेको रकममध्ये कम्तीमा १० प्रतिशत गौशालाको पुनर्निर्माण र गाईको खानपानमा खर्च गरियोस् ।

३. नाममात्रका गौशाला तुरुन्त बन्द गरियोस् । चलिरहेका गौशालामा अध्यक्षका साली–सालाको भर्ती बन्द होस् । गौशाला व्यवस्थापन समितिमा पशु तथा कृषिसम्बन्धी विज्ञलाई मात्र नियुक्ति दिइयोस् ।

४. आयातीत मलको कारोबार तुरुन्त रोकियोस् । कृषिमलको स्तर उन्नत गरियोस् । मलमा देशलाई आत्मनिर्भर बनाउने हाम्रो अभियानलाई सरकारी सहयोग आओस् । अभियान रोक्ने मल तस्करहरूलाई जेल कोचियोस् ।

५. गाईको दूध पनि खाने मासु पनि नछोड्ने † यस्तो दहीच्यूरे संस्कारको अन्त्य होस् । दुवैको उपयोगले मानव मस्तिष्कमा पर्ने नकारात्मक असरको प्रचार गरियोस् । दूध वा मासु, कुनै एकमात्र प्रयोग गरियोस् ।

६. गहुँतले मात्र चोखिन्छु भन्ने भ्रमबाट मानिसलाई मुक्त गराइयोस् । तन र मन पनि चोखो हुनुपर्छ भन्ने भावनाको बिकास गराइयोस् । गोबरको उचित प्रयोग गरियोस् ।

७. हामी सोझा हौं तर लाटा छैनौं । त्यसैले बाठोले सोझो मान्छेलाई ‘गौप्राणी’ भनेर हाम्रो अपमानित गर्ने प्रथाको तत्काल अन्त्य होस् ।

८. हाम्रा श्रीमान्हरूप्रतिको नकारात्मक दृष्टिकोण अन्त्य होस् । मान्छेले मान्छेलाई गाली गर्दा ‘गोरु’ शब्दको प्रयोग बन्द गरियोस्, त्यसको साटो मान्छेले ‘मोरु’ भनोस् ।

९. आफ्नो पाप पखाल्न हाम्रा मसिना छोराछोरीको दान दिने र लिने दान प्रथाको अन्त्य गरियोस् । बाच्छाबाच्छीको अपहरण र हत्या बन्द गरियोस् ।

१०. हरिया घाँसपात हाम्रा भोजन हुन्, शुद्ध प्रकृति हाम्रो खाजा हो । वन जंगल मास्ने काम बन्द गरियोस्, आधुनिक दानाका नाममा अखाद्यवस्तु दिएर टार्ने काम रोकियोस् ।

११. गोठ थुनेर दाना ख्वाउने परम्परा बन्द होस् । गाई चराउने संस्कृतिको पुनरुत्थान होस् । मान्छे र हामीबीचको सुमधुर सम्बन्ध पुन:स्थापित होस् ।

१२. हाम्रो दूधमा पानी हानेर जनमानसमा हामीप्रति अविस्वास पैदा गराउने किसान, डेरीहरूविरुद्ध कडा कानुन बनाइयोस् ।

१३. नेपाली माटोमा जन्मिएका हामी यही माटोमा मर्न चाहन्छौं । काम लिउन्जेल जोताउने तथा वृद्ध अवस्थामा पुगेपछि सिमाना कटाउने संस्कृतिको अन्त्य होस् ।

१४. गोरुसिंगे, गाईखुर, गोकुले, गोरुमारे, गोरु बथान आदि ठाउँहरूलाई मिलाएर पहिचानसहितको गौप्राणी स्वायत प्रदेश स्थापना गरियोस् ।

१५. गाई पुज्ने र गाई खानेहरूबीचको शीतयुद्ध अन्त्य गरियोस् । स्वास्थ्य विज्ञ, संस्कृतिविद्, पशु अधिकारकर्मीसहितको ‘गाई आयोग’ गठन होस् । पशु अधिकारको रक्षा गरियोस् ।

१६. जुन प्राणीले मान्छेको मासु खान्छ, त्यसको मात्रै मासु खान पाउने कानुनको बनाइयोस् । बाघ, भालु, स्याल, कुकुर, सर्प, बिच्छी, ब्वाँसोको मासु खानेलाई हौसला दिइयोस् ।

पुनश्च: हाम्रा उपरोक्त मागहरूप्रति सरकार र संसद मौन बसे बाध्य भएर गौविद्रोह गर्न बाध्य हुनेछौं । त्यसको जिम्मेवार मानिस स्वयम् हुनुपर्नेछ,
ड्वाँ...हब्बाँ....।