भारतीय टिभी च्यानल, गाडी र विज्ञापनमा रोक लगाउँछौं: विप्लव माओवादी


आश्विन १०, २०७२- भारतले गरेको नाकाबन्दी विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीले भारतीय टिभी च्यानल माथि रोक लगाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।
त्यस्तै आन्दोलनका अन्य कार्यक्रमहरुमा भारतीय नम्बरप्लेटका गाडीलाई नेपालमा गुड्न नदिने, फिल्म चल्न रोक लगाउने र भारतीय विज्ञापनमा रोक लगाउने लगायतका छन् ।
यस्तै नेकपा माओवादीले उपभोग्य सामग्रीको बैकल्पिक आयातका लागि विकल्प खोज्ने र सामान लुकाएर कालोबजारी गर्नेलाई व्यापारीलाई कारबाही गर्ने बताएका छन् ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भारतले नेपालमा सन १९५० को असमान सन्धीमार्फत थिचोमिचो गर्दै आएको र त्यसका विरुद्ध लड्न संसद्‌वादी दलहरु असफल भएको भनिएको छ।