लक्ष्मीबाइ'मा कंगनालाई ११ करोड

भाद्र २२, २०७२- ‘तनु वेड्स मनु’ र ‘क्विन’जस्ता फिल्म सफल भएपछि कंगना रनावत बलिउडकी सुपरस्टार बनिरहेकी छन् । उनका यी दुवै फिल्ममा ठूलो स्टार हिरो थिएनन् । कथा पनि महिलाप्रधान थिए र कंगना नै यिनमा केन्द्रिय पात्र थिइन् । यसैले यी फिल्मको सफलताको श्रेय पनि कंगनाले नै पाइन् ।
यसको फलस्वरुप अहिले कंगनाले एउटा फिल्मबाटै ११ करोड पारिश्रमिक पाएको बताइएको छ । हालै ‘माझी : द माउन्टेन म्यान’ बनाएका केतन मेहताले बनाउन लागेको नयाँ फिल्म ‘रानी लक्ष्मीबाइ’ का लागि उनले ११ करोड लिएको बताइएको छ ।

‘बलिउडमा हिरो र हिरोइनका बीच ठूलो विभेद छ, हिरोइनलाई धेरै पारिश्रसमिक दिनै पर्दैन झैं गरिन्छ,’ कंगनाले भनिन् । ‘धेरै नदिने भएकाले हिरोइनहरु माग्न पनि माग्दैनन् । नदिए पनि माग्नु त पर्‍यो, आफ्नो हकको पारिश्रमिक माग्न सक्नु पर्छ भनेर मैलें ११ करोड मागेर लिएकी हुँ,’ उनले भनिन् ।

भारतको झाँसीकी रानी लक्ष्मीबाईको नेतृत्वमा सन् १८५७ मा भएको अंग्रेज विरुद्ध विद्रोह भएको थियो । त्यही विद्रोहका अर्का लडाकु मंगल पाण्डेबारे मेहताले आमिर खानलाई लिएर ‘मंगल पाण्डे : द राइजिङ’ बनाएका थिए ।