दोस्रो
दिन पाँच बजे नै वसन्तपुरबाट हिँड्ने सुरसार गरियो । पानी पर्दै थियो ।
भाइहरूले मेरो लागि प्लास्टिकको घुम बनाइदिए । दोकाँधे झोलामाथि
प्लास्टिकको घुम ओडेर म हूलमा मिसिएँ ।
भाद्र १५, २०७२-
बुबा भन्नुहुन्थ्यो, ‘सभापोखरीमा घाम र पानीको ठेगान हुँदैन । बडेमानको
राक्षसले कहिले घाम छेक्छ, कहिले पानी ।’ मलाई लाग्थ्यो यो कुनै
दन्त्यकथाकै पोखरी होला । कस्तो रमाइलो त्यही सभापोखरी जाने संयोग मिल्यो
असार ३१ गते ।सानो छँदा सभापोखरीका अनेकौं किस्सा सुनियो । अँगेनावरिपरि आगो तापेर बसेका हामी केटाकेटीलाई बुबा, आमा राति कथा सुनाउनुहुन्थ्यो । बुबा आफूले देखेका ठाउँको वर्णन गर्नुहुन्थ्यो, तीमध्ये एक थियो ‘सभापोखरी’ । बुबा भन्नुहुन्थ्यो, ‘सभापोखरीमा घाम र पानीको ठेगान हुँदैन । बडेमानको राक्षसले कहिले घाम छेक्छ, कहिले पानी ।’ मलाई लाग्थ्यो यो कुनै दन्त्यकथाकै पोखरी होला ।
लिम्बु काका सुनाउँथे, ‘ओडारमा बास बस्दा भालुसँग जम्काभेट हुन सक्छ । उहिले मान्छेहरू सभापोखरीमा यतीसँग मीत पनि पो लगाउँथे ।’ मेरो साथी थियो शेरबहादुर सुन्दास, भन्थ्यो, ‘सभापोखरी जाँदा वनझाँक्रीसँग जोगिएर हिँड्नुपर्छ ।’ म भने सातुको फाँको मार्दै बादलमाथि उडेको सपना देख्थें । विपनामा म जलजले हिमालको शिरबाट मकालु हिमाल हेर्ने कल्पना गर्थेंं । कस्तो रमाइलो ! त्यही सभापोखरी जाने संयोग मिल्यो असार ३१ गते ।
दसजनाको टोली बन्यो । मेरा दुई भतिज वंशी र धीरज, भिनाजु बुद्धि, भिनाजुका मित्र मातृका र बाँकी ५ जना सशस्त्र प्रहरी साथीहरू । सशस्त्र प्रहरीको एसएसपी वंशीले घोषणा गर्यो, ‘यो मस्ताराम यात्रा हुनेछ ।’ निर्णय गरियो, ‘बाटोभरि धर्म छोड्ने र सभापोखरी पुगेपछि पाप पखाल्ने ।’ साँझ ५ बजे इटहरीबाट उकालो लाग्यौं । सुरुवातमै मेरो सातोपुत्लो उड्यो । साँझको यात्रा, लेकको बाटो । हिले पुगेपछि सडक टम्म ढाकेर कुहिरो लाग्यो । सात बजिसकेको थियो । पुग्नुपर्ने वसन्तपुर । कुहिरोले ५ फुटअगाडि देखिँदैनथ्यो । अन्दाजमा हिँड्नुपर्ने । सडकबाट खसिन्छ कि जस्तै भयो । तर गुरुजी निस्किए हिम्मतिला । उनले राति ९ बजे वसन्तपुर पुर्याए ।
दोस्रो दिन पाँच बजे नै वसन्तपुरबाट हिँड्ने सुरसार गरियो । पानी पर्दै थियो । भाइहरूले मेरो लागि प्लास्टिकको घुम बनाइदिए । दोकाँधे झोलामाथि प्लास्टिकको घुम ओडेर म हूलमा मिसिएँ । तर दर्के झरीलाई घुमले छेकेन । निथु्रक्कै भिजियो । वंशी भन्थ्यो, ‘मजा आयो ।’ खासमा मजा त आएको थिएन । तर हामी सबै भन्थ्यौं, ‘मजा आयो ।’ । पानीले भिजे पनि रोकिने कुरा थिएन । राति गुफापोखरी पुग्नैपर्ने । चौकीमा बिहानको खाना खाइयो । बर्खेबिदा, बुबा–आमाको होटलमा भेटिइन् एक गुरुङसेनी । उनी शिक्षिका रहिछन्, कुरा गर्न र खाना बनाउन सिपालु । चैत–वैशाखमा गुराँस फुल्दा त्यो क्षेत्र कस्तो हुन्छ उनले अद्भुत बयान गरिन् । आउने सिजनमा भेटौंला भन्दै हामी अगाडि बढ्यौं ।
झरीमा रुझेको ज्यान, दुखेका पिँडुला । लामपोखरीमा पुगेपछि खुट्टाले साथ छोड्दै थिए । गुफापोखरी कति घन्टामा पुगिएला ? बाटोमा भेटिने सबैलाई मेरो प्रश्न हुन्थ्यो । हराएका भैंसी पछ्याउँदै हिँडेका बूढा बाजेले भने, ‘अव सवा घन्टामा पुगिन्छ ।’ तर ३ घन्टा हिँड्दा पनि गुफापोखरी आएन । झन्डै ७ बज्नै लाग्दा घुर्मैलो अँध्यारोमा सानो बस्ती देखियो । गुफापोखरी । यता गुफापोखरीमा भेट्ने सल्लाह गरेका धीरज र बुद्धि भिनाजु आइपुगेकै थिएनन् । उनीहरू चैनपुरबाट मादी हुँदै आउनुपर्ने ।
तेस्रो दिन सखारै गुफापोखरीबाट उकालो लागियो । आकाश खुलेको थियो । अद्भुत सौन्दर्य हाम्रो अगाडि साक्षात्कार भयो । भेडाका बथान, चौरीका लस्कर र लेकाली घोडाका बछेटा पाखाभरि थिए । माथि गोरुजुरे, जलजले र महालंगुर पर्वत शृंखला, तल लमतन्न सुतेको बिन्दास पहाड । पूर्व उत्तरमा मकालु र पश्चिम उत्तरमा कञ्चनजंघा हिमाल । हिउँमा ठोकिएर बरालिँदै आएको हावा हाम्रो गालैबाट बहन्थ्यो । मन उद्वेलित गर्न यति भए के चाहियो ? मध्यान्ह हुनै लाग्दा हामी दोबाटे पुग्यौं ।
आकाशको नजिकै थियो । छिनछिनमै भुईंकुइरो आउँथ्यो र जान्थ्यो । त्यो अनमोल क्षणको मजा लिन हामीले झोला बिसायौं । धीरज सुसेल्न थाल्यो । मलाई भने बच्चाझैं कुइराको गीत गाउन मन लाग्यो, जुन हामी गोठालो जाँदा गाउँथ्यौं ‘दगुर कुइरा दगुर, तेरो घरमा चोर पस्यो... ।’
तेस्रो रात हिले र चौथो रात सेलेलेफेलेलेको पैरोमा बास पर्यो । हिलेमा चौरीगोठ भेटियो । सेलेलेफेलेलेमा भेडीगोठ । त्यसो त हामीसँग खाने, ओढ्ने, ओछ्याउने बन्दोबस्तीका सबै सामान थिए । यात्राको तयारी पूरापूर ‘नन्भेज’ मार्काको थियो । हामीले माछा, मासु, सुकुटी, टुना फिस टन्नै बोकेका थियौं । खाजाका लागि बिस्कुट र चाउचाउ त थियो । भिनाजुले चैनपुरबाट दुई माना शुद्ध कुराउनी, भुटेको चिउरा र अचार लगेका थिए । मातृकाजीले सातु र दही बोकेका थिए । धीरजले भुटेका मकै र तीलको अचार । गुन्द्रुक, सिन्की र चामल साथीहरूसँग थियो । साथमा केही बोतल ‘देशी जल’ पनि । लेकाली चौरमा टेन्ट टाँगेर बस्ने योजना थियो हाम्रो । वंशीलाई ‘क्याम्प फायर गर्ने’ र चर्को स्वरमा गीत गाउने रहर थियो । म मध्यरातमा पहाडसँग कुरा गर्न चाहन्थें । अविरल झरीले योजना बिथोल्यो । न त सुख्खा चौर भेटियो, न आगो फुक्न ओभाना दाउरा नै ।
‘महिनौं मान्छेको अनुहार देख्न पाइँदैन,’ चौरीको दूध दुहुँदै एउटी किशोरीले भनिन् । हामी हिले पुग्यौं र बास बस्न चौरीगोठभित्र छिर्यौं । बाहिर मुसलधारे पानी पर्दै थियो । रात कटाउन अर्को विकल्प थिएन । जम्मा गोठ ‘१२ वाई २०’ फुट जतिको थियो । साँघुरो । गोठमा २ बूढाबूढी र ३ छोराछोरी थिए ।
त्यहीभित्र ५ वटा चौरीका बाछाबाछी, ३ वटा बाख्रा २ वटा मरन्च्यासे पाठा, तीनवटा पोथी कुखुरा र एउटा कुकुर पहिले नै खाँदिएका थिए । हामी १० जना थपियौं । गोठको बीचमा अँगेनो थियो । त्यसमाथि लटरम्म छुर्पी झुन्ड्याइएका । अँगेनाको डिलैमा तोङ्वा थियो, जसमा गृहस्वामिनी बेलाबेला पानी थप्थिन् र घुट्क्याउँथिन् । उनले हामीलाई ओछ्यान लगाउन अँगेना दक्षणतिरको स्थान छुट्याइन् ।
वेतोडको स्याँठ, दर्कंदो झरी, चिसो भुईं र धूवाँको मुस्लो । खापाखाप गर्दा पनि अटाउने ठाउँ थिएन । त्यसमाथि आलो छुर्पीको गन्धले टाउको हान्दै थियो । खोले पकाउने तपेस मोलमाल गरेर भात पकाइयो । राति एकअर्कालाई ठेल्दै र कराउँदै बिताइयो । बिहान उठ्दा सबैतिर खुलेको थियो ।
चौथो दिन, हिलेबाट एक बिहान सक्दो हिँडेपछि गिद्दे पुगियो । त्यहाँ अर्को चौंरीगोठ थियो । अलिक ब्यवस्थित र फराक । त्यहाँ चाउचाउ खाइयो । केही अगाडि बढेपछि भञ्ज्याङ भेटियो । भञ्ज्याङबाट ओरालो, तेर्सो र उकालो चढेपछि वास्तविक लेकको अनुभव सुरु भयो । भैरुङ्गपाती, धुपी र बुकीफूलको चर्को गन्धले टाउको भारी भयो । आमाको सल्लाह थियो, ‘राम्रो देख्दैमा फूल नछुनु । लेक लाग्न सक्छ । होस गर्नु ।’ हामीले अदुवा मुखमा हाल्यौं । बाटो कतै थिएन, अन्दाजले हिँड्नुपर्ने । मैले जीवनमै त्यति काला, ठूला र कडा ढुंगाको पर्वत देखेको थिइनँ । जता हेर्यो कुम्भकर्णजस्ता मस्त सुतेका पर्वत । तर रमाइलो के भने पोखरी पनि मनग्गे थिए । भुताहा पोखरी, जलजले पोखरी, पाँच पोखरी, सिद्ध पोखरी । मानौं त्यो संसार नै ढुंगाको पहाड र पोखरीहरूले मेला हो । ठाडो उकालो थियो । त्यसैले मैले हिँड्ने सूत्र निकालें । ‘टेन स्टेप, वान रेस्ट’ ।
यात्राको विवरण टिपोट गरिरहँदा वंशीले भन्यो, ‘डढेलोको कुरा नछुटाउनुहोला’ । तेस्रो दिनको यात्रामा हरिया नागी, सुन्दर पाखा र बहुमूल्य जंगल सबै डढेलोले स्वाहा पारेको देखियो । हरियो हुनुपर्ने जंगल कालो र मैलो थियो । रूखहरूमा जीवन थिएन । सबै आगोले खाएको थियो । कसले र किन लगायो होला यो डढेलो ? मैले वनका हाकिम र वन उपभोक्ता समितिका मित्रहरू सम्झिएँ । तीनजुरे, मिल्के र जलजलेको पर्यटन प्रवद्र्धनमा लागेका कमरेडहरूको अनुहार पनि याद आयो । हाम्रो निष्कर्ष थियो, ‘जंगल, जडीबुटी र पर्यटनको कुरा गर्ने सबै विकासे गफाडी हुन् ।’
चौथो दिनको बास पर्यो सेलेलेफेलेलेमा । माथि जलजले हिमाल, त्यसको छातीमै घाउ लागेजस्तो ढुंगाको पैरो र पैरोको बीचमा फसेजस्तो भेडीगोठ । गोठका मालिक ३ जना रहेछन् । मेरै जन्म गाउँ जलजला गाविसका । उनीहरूले हार्दिक स्वागत गरे । तर समस्या उही थियो, ‘१० वाई १०’ को । गोठको बीचमा अँगेनो थियो । अँगेनाबाट धूवाँको मुस्लो छुट्थ्यो र एकपटक भित्र रिंगिएर सानो दुलोबाट बाहिरिन्थ्यो । तैपनि राति निकै न्यानोसँग निदाएँ । त्यो न्यानोको रहस्य बिहानमात्र खुल्यो । मेरो छेउमा कुकुर सुतेको रहेछ जसको ढाडमा खाटा नबसेको ठूलो घाउ थियो ।
पाँचौं दिन, सेलेलेफेलेलेबाट हिँडेको ३ घन्टामा सभापोखरी पुगियो । एउटा अनमोल गन्तव्य जसलाई मैले विगत लामो समयदेखि सपनामा देख्दै आएको थिएँ । सभापोखरी अद्भुत रहेछ । काला पत्थरको पहाड, बीचमा गाडा नीलो पोखरी । यसको रोचक किंवदन्ती छ । वेदव्यासले वेद रचना गरेपछि यसको पहिलो वाचन यहीँ गरेका थिए । वेदका पवित्र मन्त्र सबैभन्दा पहिले यहीं गुन्जिए । ठ्याक्कै किंवदन्ती सुहाउँदो गरी पोखरीको बीचमा व्यासको आसन छ । वरिपरि शान्त पर्वत र बुकीफूलको बगैंचा । पोखरीमा हिन्दु, बौद्ध र किरात समुदायको उत्तिकै आस्था देखिन्छ । हिन्दु पूजा परम्परा, बौद्धमार्गीहरूले टाँगेका रंगीबिरंगी ध्वजापताका र किरातहरूले बनाएका पाटीपैवा । हामीले सभापोखरीमा नुहायौं । प्रार्थना गर्यौं र अन्त्यमा वरिपरिका फोहोर सफा गर्यौं ।
सभापोखरी पुग्न सजिलो भएन । अप्ठ्यारा ढुंगेभीर छिचोलेर त्यहाँ पुग्न एउटा युद्ध जितेजस्तै भयो । तर पुगेपछि लाग्यो, हामी स्वर्गको विशाल बैठक कक्षमा छौं । बुकीफूलको मखमली कार्पेट ओछ्याइएको छ । माथि जलजले हिमाल छ । आकाश, धर्ती सबै हर्सित देखिए । हामीले पनि त्यही हर्षमा जीवनको उत्सव मनायौं ।
हामी हिँड्नैलाग्दा फेरि बादल लाग्यो । बादलको घुम्टोभित्र सम्पूर्ण शान्ति छायो । मात्र कतै पर टिङटिङ आवाज आइरहेको थियो । चौरीको गलामा झुन्डिएको घण्टको आवाज । मलाई अझै धित मरेन । केहीबेर सुस्ताउन मन लाग्यो । मन लाग्यो केही वर्ष त्यतै बस्न, सानो घर बसाउन र आफ्नी प्रियतमासँग अपूर्व उत्साहले नाच्न । वास्तवमा मलाई शिव हुन मन लाग्यो ।
फर्किंदा बाटो बिराइयो । जलजले हिमाललाई एक फन्को मारेर झर्दै थियौं बादलको घनघोर जंगलमा फसियो । दुई घन्टामा पुगिन्छ भनेको ‘भकारिखेप’ पाँच घन्टामा पनि पुगिएन । धीरज र म पछाडि छुट्यौ । धीरज मुख सुकेर छाताको करङबाट झर्ने पानी चुस्न थाल्यो । कतै मान्छेको चालचुल छैन । कतै भोटेकुकुर भुकेको सुनिदैन । कतै चौरीको टिङटिङ बज्दैन । अब के गर्ने होला ? एक मनले भन्यो ‘भाइ अब तेरा दिन गए, चिसोमा कठ्यांग्रिएर बित्ने भइस् ।’ अर्को मनले जुक्ति निकाल्यो, ‘अब गोठ खोज्नुपर्ला ।’ यस्तै अन्योलमा कुहिरोभित्र पर केही ध्वजाहरू हल्लिए । एकैछिनमा हामी मूलबाटोमा पुग्यौं ।
घरबाट हिँडेको सातौं दिन तेह्रथुम आइपुगियो । त्यो दिन लिम्बुवानको बन्द परेछ । संविधानको मस्यौदामा सुझाव लिन आएका सभासदहरू जिल्लामै थिए । उनीहरू सुझाव संकलन सफल भएको उत्साहमा थिए । यता मेरो मनमा जिज्ञासा उठ्यो, माथि चौरी गोठमा भेटिएकी किशोरीले सुझाव दिन पाएकी भए के भन्थिन् होला ? राति भालुले भेडा तानेर हैरान भएका गोठालाहरू हाम्रा सभासदलाई के भन्दा हुन् ? त्यो क्षेत्रमा दुइटा स्वास्थ्य चौकी, एउटा प्रहरी चौकी र एउटा पशु चौकी खोल्न पाए गोठालाहरू कति रमाउँथे होलान् ।
ठूलो रहरबीच म ४० वर्षपछि सभापोखरी पुगें । आशा गरौं, अर्को पुस्ता केवलकारमा सभापोखरी जानेछ । सायद उसले पनि यसरी नै कथा लेख्ला । त्यो कथामा चौरीगोठ, भेडीगोठ र गोठालाहरू कस्ता होलान् ? सभापोखरी कस्तो होला