भारतीय टिभी च्यानल, गाडी र विज्ञापनमा रोक लगाउँछौं: विप्लव माओवादी


आश्विन १०, २०७२- भारतले गरेको नाकाबन्दी विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीले भारतीय टिभी च्यानल माथि रोक लगाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।
त्यस्तै आन्दोलनका अन्य कार्यक्रमहरुमा भारतीय नम्बरप्लेटका गाडीलाई नेपालमा गुड्न नदिने, फिल्म चल्न रोक लगाउने र भारतीय विज्ञापनमा रोक लगाउने लगायतका छन् ।
यस्तै नेकपा माओवादीले उपभोग्य सामग्रीको बैकल्पिक आयातका लागि विकल्प खोज्ने र सामान लुकाएर कालोबजारी गर्नेलाई व्यापारीलाई कारबाही गर्ने बताएका छन् ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भारतले नेपालमा सन १९५० को असमान सन्धीमार्फत थिचोमिचो गर्दै आएको र त्यसका विरुद्ध लड्न संसद्‌वादी दलहरु असफल भएको भनिएको छ। 

सेतो पुतलीले आँखा स‍ंक्रमण बढायो

आश्विन १०, २०७२- सदरमुकाम बजारमा बिजुलीबत्ती वरिपरी झुम्मिने मोट्स प्रजातीको सेतो पुतलीले बालबालिकाहरुमा आँखा पाक्ने समस्याले महामारी रुप लिएको छ ।

राति बिजुली बलेको बेला हरेक घरमा सयौं पुतली बत्ती वरपर झुम्मिने गरेका छन् । सेतो पुतलीको पखेटाबाट उड्ने साना कणहरु वातावरणमा फैलिएपछि बालबालिकाहरुमा आँखा पाक्ने खतरनाक ‘सापु’ नामक महामारी फैलिएको जिल्लास्थित सामुदायिक आँखा उपचार केन्द्रका नेत्र अधिकृत रामसिंह तामाङले बताए ।
हालसम्म कुम्पुर र सेम्जोङका २ जनालाई तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पठाइएको बताउँदै नेत्र अधिकृत तामाङले भने, ‘यो संक्रमणले बालबालिकाहरुको एउटै मात्र आँखाको ३ तह मध्येबीच भागको तहमा पिप जमाएर उपचारमै कठिन बनाउँछ । यस्को उपचार करिव असम्भव छ र बालबालिकाको एउटा आँखा कामै नलाग्ने हुन सक्छ’।
यो संक्रमण भूकम्प पीडित विस्थापित शिविरमा, अति विपन्न, राति अति प्रकाश दिने बत्तीबालेर झ्याल खुलै राख्ने परिवारमा, देखिएको छ ।
 
जिल्लास्थित आँखा अस्पतालमा विगत एक महिनादेखि दैनिक ५ देखि एक दर्जन बिरामी आउने गरेका छन् ।

घरलाई नयाँ लुक


आश्विन १०, २०७२ 
हिजोआज हरेक मानिस मेसिनझैं भएका छन् । घर खाने र सुत्ने होटलजस्तै बन्दै गएको परिप्रेक्ष्यमा घरको रूपरंगमा केही परिवर्तन गरी नयाँ देखाउने चाहना सबैजसो महिलामा हुन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्न सक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि थुपै्र सामग्री सम्हालेर राख्न सके घर व्यवस्थित देखिन्छ । घरको भित्तामा वाल पेपर लगाएर, कुसन कभरहरू फेरेर, सोफाको कभर परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर तथा बत्तीहरू फेरेर पनि घरलाई रूप दिन सकिन्छ ।
लिभिङ रुम  
घरमा आएका हरेक पाहुना सबैभन्दा पहिले लिभिङ रुममै पुग्छन् । त्यसैले यहाँको सजावट सबैभन्दा विशेष हुनुपर्छ । सबैभन्दा पहिले लिभिङ रुममा राखिएका अनावश्यक सामग्री बाहिर निकाल्नुपर्छ । कोठा जति खाली हुन्छ त्यति नै ठूलो देखिन्छ । तुरुन्तै परिवर्तन चाहने हो भने लिभिङ रुमको लाइट बदल्नुपर्छ । लिभिङ रुममा हेलोजिन, डिम वा आफ्नो रोजाइको कुनै ड्रामेटिक लाइट राख्न सकिन्छ । यसैगरी लिभिङ रुमको एउटा भित्तामा वालपेपर प्रयोग गरी त्यसलाई नयाँ लुक दिन सकिन्छ । एउटा भित्तामा फरक–फरक प्रकारको आर्टवर्क वा तस्बिर सजाएर पनि लिभिङ रुममा नयाँ लुक सिर्जना गर्न सकिन्छ । नयाँ फर्निचर खरिद गर्ने चाहना छ भने पुरानाको मेकओभर गरी लिभिङ रुमको सुन्दरता बढाउन सकिन्छ । यसका लागि पुरानो सोफामा नयाँ कभर लगाउन अथवा नयाँ कुसन कभर खरिद गरी सोफालाई नयाँ रूपमा सजाउन सकिन्छ । झ्यालमा नयाँ पर्दा लगाएर लिभिङ रुमको सुन्दरतामा निखार ल्याउन सकिन्छ । पुरानो फ्लोरिङ परिवर्तन गर्नुको साटो त्यसमा नयाँ कार्पेट ओछ्याउन सकिन्छ । यसबाट लिभिङ रुमको लुक परिवर्तन हुन्छ । पुस्तकमा रुचि छ भने ग्लासका बुक सेल्फले लिभिङ रुमको शोभा बढाउनु उपयुक्त हुन्छ । नयाँ–नयाँ प्लान्ट्स राखेर पनि लिभिङ रुमको रौनक बढाउन सकिन्छ ।
बेडरुम
यो घरको त्यस्तो ठाउँ हो जहाँ दिनभरिको थकानपछि साँझ आनन्दपूर्वक आराम गर्न सकिन्छ । बेडरुमको मेकओभरले मुड बदल्न सहयोग गर्छ । सबैभन्दा पहिले बेडसिट, पिलो कभर तथा पर्दा बदल्नुपर्छ । त्यसपछि केही क्षणमै बेडरुमको लुक बदल्न सकिन्छ । आवश्यकतानुसार बेडरुमलाई पनि कुनै थिममा सजाउन सकिन्छ । बेडरुमका लागि फ्लोरल प्रिन्ट छनोट गर्नु उपयुक्त हुन्छ । बेडरुमलाई ताजा फूलले सजाउन सकिन्छ वा अरू कुनै थिम छनोट गर्न पनि सकिन्छ । बेडरुमलाई रोमान्टिक लुक दिन कोठामा क्यान्डल, ल्याम्प वा अलग–अलग प्रकारका सफ्ट लाइट्स राख्नुपर्छ । बेडरुमलाई लग्जरियस लुक प्रदान गर्न सिल्कका पर्दा, बेडसिट, पिलो कभर आदि प्रयोग गर्नुपर्छ । बेडरुमका लागि त्यस्तो साइड टेबल छनोट गर्नुपर्छ, जसको मुनिको भागमा दैनिक आवश्यकताका स–साना सामग्री राख्ने पर्याप्त ठाउँ होस् । 
भान्सा
भान्साको भित्री भित्ता मोटो छ भने यसलाई काटेर क्रकरी राख्ने क्याबिनेट बनाउन सकिन्छ । भान्साको सफाइसँग जोडिएका डस्टर, क्लिनिङ ब्रस तथा लिक्विड सोप आदि राख्न सिन्क तल सानो खालको कबर्ड एरिया हुनुपर्छ । सरसामान व्यवस्थित राख्न मोड्युलर किचेन धेरै राम्रो विकल्प हो । 
चिल्ड्रेन रुम
बालबालिकाहरूको कोठामा स्टोरेजको व्यवस्थाका साथै पढ्न र इन्डोर गेम्स खेल्न पर्याप्त खुला ठाउँ हुनुपर्छ । बालबालिकाहरूको बेडमुनि दराज हुनुपर्छ जसले गर्दा बालबालिकालाई आफ्ना सरसामान निकाल्न असुविधा हुँदैन । स्टडी टेबलका साथमा एउटा क्लिप बोर्ड हुनुपर्छ, जहाँ बोर्ड पिनको सहायताले आवश्यक कागजात राख्न सकियोस् । बालबालिका साना भए कोठामा आकर्षक डिजाइनयुक्त प्लास्टिक कन्टेनर राख्नुपर्छ, यसमा उनीहरूका खेलौना सम्हालेर राख्न सकिन्छ । बालबालिकाहरूको कोठालाई आकर्षक बनाउन भित्तामा फ्लावरी वा कार्टुन क्यारेक्टरयुक्त वालपेपर लगाउनुपर्छ । भित्तामा थ्रिडी स्टिकर्स, कार्टुन पोस्टर्स टाँगेर पनि कोठालाई नयाँ लुक दिन सकिन्छ । बालबालिकाहरूको कोठाका लागि पर्दा, बेडसिट, पिलो कभर आदि छनोट गर्दा उनीहरूको रोजाइअनुसार कार्टुन क्यारेक्टर, फूल, पुतली आदि प्रिन्ट्सलाई प्राथमिकता दिनुपर्छ ।
बाथरुम  
बाथरुमलाई नयाँ लुक प्रदान गर्दा त्यो घरको अन्य कोठासित मिल्दोजुल्दो होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । एक्रेलिक बाथटब वा वास वेसिनको स्थान परिवर्तन गरी बाथरुमलाई नयाँ लुक प्रदान गर्न सकिन्छ । नयाँ सावर लगाएर बाथरुममा नयाँ लुक दिन सकिन्छ । बाथरुमको लाइट बदल्नुपर्छ । बाथरुममा ह्वाइट लाइट छ भने त्यसलाई परिवर्तन गरी एल्लो लाइट प्रयोग गर्नुपर्छ, यसबाट बाथरुममा परिवर्तन आएजस्तो लाग्छ । नयाँ टाबेल, सावर, बाथमेट आदि प्रयोग गरी बाथरुमलाई नयाँ लुक दिन सकिन्छ । ठूलो ऐना राख्दा बाथरुम नै ठूलो देखिन्छ । ठूलो टाइल्स लगाउँदा पनि बाथरुम ठूलो देखिन्छ । बाथरुमका लागि एसेसरिज छनोट गर्दा एलो, ओरेन्ज ओलिभ ग्रिन, रोयल ब्लुजस्ता फ्रेस कलरलाई प्राथमिकतामा राख्नुपर्छ ।
पर्दा
कोठाको भित्ता सेतो, क्रिम, लाइट वा एउटै रंगको छ भने रंगीन तथा चम्किलो पर्दा लगाउनुपर्छ । घरलाई कन्टेम्पोररी लुक दिन भित्ताको रंग ह्वाइट वा अफ ह्वाइट नै राख्नुपर्छ भने पर्दा ब्राइट, बोल्ड र भाइब्रेन्ट हुनुपर्छ । घरलाई क्लासी वा रोयल लुक दिन गोल्ड तथा सिल्भर सेड्सको पर्दा छनोट गर्न सकिन्छ । यसमा हल्का वर्क गराउनु उपयुक्त हुन्छ । 
कुसन
बढी खर्च नगरे पनि घरलाई नयाँ लुक दिन कुसन, सोफा कभर तथा पर्दा बदलिरहनुपर्छ । त्यसका लागि ब्राइट कलरको फेब्रिक छनोट गर्न सकिन्छ । यसबाट डेकोर पनि ब्राइट हुन्छ । रोयल लुकका लागि विड्स, जरदोजी वर्कयुक्त कुसन कभर्स तथा कटनको फेब्रिक प्रयोग गर्नुपर्छ । स्पेशल अवसरका लागि कटनको साटो सिल्क, भेल्भेट, टिस्यु, ओर्गेन्जा आदि फेब्रिक छनोट गर्न सकिन्छ । लिभिङ रुममा मिरर वर्क, ब्रोकेड वा सिक्वेन्ड कुसन कभर प्रयोग गर्नुपर्छ । यसले क्षणभरमै लिभिङ रुम नयाँ देखिन्छ ।
वालपेपर 
सानो घरलाई ठूलो देखाउनु छ भने लाइट कलरको सानो डिजाइनयुक्त वालपेपर छनोट गर्नुपर्छ । भर्टिकल स्ट्रेप्सयुक्त वालपेपर लगाउँदा कोठा अग्लो भएको अनुभव हुन्छ । सिलिङ धेरै हाइटमा छ भने भित्ताको साटो सिलिङमा वालपेपर लगाउनुपर्छ । कोठालाई रोमान्टिक लुक प्रदान गर्न ब्लु, पर्पल, ग्रिन आदि ब्राइट कलर प्रयोग गर्नुपर्छ । वासेबल वालपेपर लगाउँदा भित्ता सुन्दर देखिन्छ । यसलाई साबुन पानी वा भिजेको कपडाले सफा गर्न सकिन्छ ।
ल्याम्प 
सेलियन्डरलाई डाइनिङ टेबल र कोठाको मध्यभागमा लगाउनुपर्छ । एन्टिक फिनिसयुक्त ल्याम्प पनि लोकप्रिय छ । घरलाई परम्परागत लुक दिन एन्टिक ल्याम्पको छनोट उपयुक्त हुन्छ ।
बक्स
सुनीति मुनकर्मी इन्टेरियर डिजाइनर
भित्ता सजाउन
आकर्षक भित्ताले घरको सुन्दरता वृद्धि गर्छ । आफ्नो सपनाको संसारमा नयाँ तरिकाले निखार ल्याउन भित्ताका लागि केही स्मार्ट उपाय अपनाउन सकिन्छ ।
ऐना
भित्तालाई सजाउन मिरर अर्थात् आकर्षक ऐनाभन्दा राम्रो अर्को कुनै विकल्प छैन । ठूलो फ्रेम भएको ऐना वाल डेकोरेसनमा काम आउनुका साथै त्यसको प्रयोगले सानो कोठालाई पनि ठूलो देखाउन सकिन्छ । ठूलो आकारको ऐना छनोट गर्नुपर्छ । ऐनाको प्रयोग विशेषगरी लिभिङ र डाइनिङ रुमको भित्तामा सम्म गर्न सकिन्छ । 
वालपेपर
वालपेपर घरको भित्ता सजाउने सबैभन्दा सहज उपाय हो । थिमअनुसार वालपेपर छनोट गर्नुपर्छ । कोठालाई फ्लोरल थिम दिने चाहना छ भने फूलको डिजाइनयुक्त वालपेपर छनोट गर्नुपर्छ । फर्निचर वा फ्लोरिङसित म्याच हुने वालपेपर प्रयोग गर्नुपर्छ । यसबाट कोठाको सुन्दरता वृद्धिमा सहयोग पुग्छ । 
ह्याङ्गिङ् डेकोर 
भित्तामा भुन्ड्याउन मिल्ने सजावटका वस्तुबाट पनि भित्ता सजाउन सकिन्छ । बजारमा यसका अनेकौं रेन्ज उपलब्ध छन् । ह्याङगिङ क्यान्डल वाल स्ट्यान्डले भित्ता सजाउनुपर्छ । यसले घरको सुन्दरतामा निखार ल्याउनुका साथै घरमा उज्यालो छर्ने काम पनि गर्छ । पूजाघरको भित्ताका लागि भगवान्को प्रतिमा वा स्वस्तिक, ओमजस्ता शुभ प्रतीक उपयुक्त हुन्छन् ।
पेन्टिङ्स
पेन्टिङ्सको माध्यमबाट पनि वाल डेकोर गर्न सकिन्छ । यसले घरलाई आर्टिस्टिक लुक प्रदान गर्छ । लाइट सेडको भित्तामा डार्क सेड वा डार्क सेडको भित्तामा लाइट सेडको पेन्टिङ लगाउनुपर्छ । यसबाट कोठालाई आकर्षक लुक प्राप्त हुन्छ । कोठाको एउटा भित्तामा पेन्टिङ झुन्डाउनुपर्छ । यसबाट सबैको ध्यान उक्त भित्तामा जान्छ । 
भित्ते घडी
कोठाको भित्ता सजाउन भित्ते घडी पनि राम्रो विकल्प हो । कोठालाई स्टाइलिस लुक दिन चाहने हो भने ठूलो साइजको वाल क्लक छनोट गर्नुपर्छ । एन्टिक लुकका लागि बेलयुक्त ठूलो भित्ते घडी प्रयोग गर्न सकिन्छ ।
फोटो फ्रेम
जीवनका विशेष क्षणलाई सुन्दर तथा आकर्षक फ्रेममा कैद गरेर पनि भित्ता सजाउन सकिन्छ । बेडरुमको भित्तालाई व्यक्तिगत तस्बिरहरूले सजाउन सकिन्छ भने लिभिङ रुमका लागि फेमिली फोटोग्राफ्स छनोट गर्नु उपयुक्त हुन्छ ।

दोहामा नेफ्टा अवार्ड सम्पन्न


आश्विन ८, २०७२ दोहामा नेफ्टा अवार्ड सम्पन्न
आठौं नेफ्टा अवार्ड विहिबार दोहामा सम्पन्न भयो । टलकजंग भर्सेस टुल्के सर्वाेत्कृष्ट चलचित्र घोषणा भयो । सोही चलचित्रवाट निश्चल बस्नेत, ऋचा शर्मा, खगेन्द्र लामिछाने क्रमश: सर्वाेत्कृष्ट निर्देशक, अभिनेत्री एवं अभिनेताको अवार्ड हात पार्न सफल भए । नायक श्रीकृष्णको कोहिनूर चलचित्र पपूलर चलचित्र घोषित भएको थियो भने पपुलर विधामा प्रियंका कार्की र आर्यन सिग्देल सर्वाेत्कृष्ट अभिनेत्री तथा अभिनेता घोषित भए । चलचित्र कबड्डी जुरी अवार्ड जित्यो भने शैलेन्द्रध्वज कार्कीले जेरीवाट सर्वाेत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड हात पारे । हसनराज खान र छुल्ठीम गुरुङ्ग उत्कृष्ट डेब्यू अभिनेता तथा अभिनेत्री भए । हँसियाबाट अनुपविक्रम शाही खलपात्र, सूर्यमाला खनाल चरित्र अभिनेत्री तथा सौगात विष्ट बालकलाकार विधामा उत्कृष्ट बने । विर्खेलाइ चिन्छस्बाट सुवास थापा उत्कृष्ट हास्यकलाकार, नोभेम्बर रेनवाट युवराज चौलागाईं उत्कृष्ट पाश्र्व गायक, नाइँ नभन्नु ल ३ बाट रजिना रिमाल उत्कृष्ट पाश्र्व गायिका, स्टुपिड मनवाट अर्जुन पोखरेल उत्कृष्ट संगीतकार, कोहिनूरवाट कृष्णहरी बराल गीतकार, हवल्दार सुन्तलीबाट नृत्य निर्देशक कविराज गहतराज, वानवेबाट द्वन्द्व निर्देशक रोशन श्रेष्ठ तथा कोहिनूरबाटै कला निर्देशक अञ्जन गजुरेल एवं पासाङ्ग टी शेर्पाले अवार्ड हात पारे । त्यस्तै सेतो बाघवाट निरा राणा उत्कृष्ट ड्रेस डिजाइनर तथा मालाबाट  दिपु पौडेलले उत्कृष्ट मेकअप अवार्ड पाउन सफल भए । झिग्रानामार्फत् पासाङ लामाको पटकथाले बाजी मार्‍यो भने सविन बास्कोटाले सुनपानीवाट उत्कृष्ट कथाको अवार्ड प्राप्त गरे ।  सोही कार्यक्रममा हास्यकलाकार महजोडीलाई कला रत्न सम्मान प्रदान गरेको थियो । विजेताहरूलाई सञ्चारमन्त्री मिनेन्द्र रिजालले अवार्ड प्रदान गरेका थिए ।