विदेशको तीज



हामी विदेशमा बस्नेहरूलाई आफ्नो देश, घर तथा परिवारको सम्झना सधैं आउँछ । त्यसमा पनि दसैं, तिहार, तीजजस्ता चाडबाड आउँदा त्यस्तो सम्झनाले अझ बढी सताउँछ । नेपालमा भैदिएको भए बरु केही हुँदैनथ्यो होला । साथीसंगी, दिदीबहिनी सबै जनासँग भेट हुन्थ्यो, नियास्रो लाग्दैनथ्यो । अघिल्लो वर्षको तीज पनि घर र स्वदेशकै सम्झनामा बित्यो । तैपनि यहाँ सिड्नीमा हामी साथीभाइ जम्मा भयौं । बिहानै हिन्दू मन्दिरमा गएर पूजापाठ गर्‍यौं । गीत गाएर, नाचेर रमाइलो गर्‍यौं । यसपालि पनि त्यसरी नै मनाउने सोच छ । यहाँ सिड्नीमा रहेका विभिन्न समूह, संस्थाहरूले तीज विशेष कार्यक्रम आयोजित गर्छन् । यस्ता चाडबाडमा नेपालबाट विभिन्न कलाकार तथा सेलिब्रिटीहरू आइरहन्छन् । कलाकारहरूको उपस्थितिले कार्यक्रम अझ रमाइलो र अविस्मरणीय हुन्छ । साथीहरूको जमघट, नेपालबाट आएका कलाकारहरूको प्रस्तुति सुन्दा–हेर्दा नेपालमै पो छु कि जस्तो लाग्छ । 
कोरियामा नेपालको झझल्को
जुनु गुरुङ, कोरिया
कोरियाको तीज विशेष हुने गर्छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नारीहरुद्वारा संचालित सँस्था वुमन फर वुमनले बिशेष कार्यक्रमहरुका साथ बृहत रुपमा मनाउदै आएको छ ।प्रबासि भूमिमा रहेर पनि हामी आफ्नो कला, संस्कृति र पर्वको बिशेष महत्व झल्काउने काममा हामी सक्रिय छौं । यहाँ रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच एक आपसमा सद्भावना कायम गर्न र सुख, दुख साँटासाँट गर्न हामी तीज मनाउदै आएका छौं ।
यहाँ तीजका कार्यक्रम मनाउदा बिशेषगरी हामी नेपाली पहिरनमा सजिएर नाँचगानका कार्यक्रम आयोजना गर्छौं । साथै बिभिन्न परिकारहरु बनाउने, सबैजना जम्मा हुने, एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाईदै आएका छौं । अघिल्लो वर्ष वुमन फर वुमनको अग्रसरतामा शुभेच्छा रेस्टुराँमा अत्यन्तै हर्षोल्लासका साथ मनाएका थियौं ।
कोरियास्थित राजदुत, श्रम सहचारी, संघसँस्थाका प्रतिनिधी, गन्यमान्य सबै ब्यक्ति, यहाँ रहनुहुने सबै दिदी बहिनीहरु शुभेच्छा रेस्टुराँमा भेला भएका थियौं । औपचारिक तरीकाले कार्यक्रम मनायौं । नेपाली गीत, संगीत बजाएर, नाचगान गाएर, बिभिन्न परिकारहरु मनाएर रमाइलो गरियो । परदेशमा भएपनि त्यसको कुनै आभास भएन ।
तन जापानमा, मन नेपालमा
इन्दिरा बजगाईं, जापान

म जापान आएको ४, ५ महिना भयो । यहाँ नेपालीहरु पनि त्यति धेरै चिनेको छैन । त्यसमाथि भर्खर काम गर्न थालेको छु । भनेको दिनमा बिदा पनि मिल्दैन । पहिलो चोटी घरबाट यति टाढा आईयो । बिराटनगरबाट काठमाडौं आउदा जति घरको याद आउथ्यो त्यो भन्दा बढी नेपालबाट जापान आउदा यादले सताउन थाल्यो । यतिबेला स्वदेश, घरपरिवार, साथीभाईको यादले एकदमै सताईरहेको छ । नेपालमा त स्काउटबाट पशुपतिमा स्वयंसेबक गर्न खटेकी थिएँ । त्यससँगै तीजमा एक हप्ता अघिदेखि नाँचगान गरेको, दर खाएको सम्झिन्छु ।
यसपाली टोकियोमा जति चिनेजानेका नेपालीहरु छन्, उनीहरुसँगै मनाउने सोचमा छु । यहाँ आयोजना हुन लागेको कार्यक्रममा गायिका सिन्धु मल्ल आउने कुरा छ । नेपालको जस्तै माहोल नभएपनि यहाँ रमाइलो गर्ने मन छ । काठमाडौंमा छदा बुबा, आमासँग प्रायजसो कुराकानी भईरहन्थ्यो । हाम्रो गाउमा तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो । त्यसबेला आमाले राती उठेर दर बनाउनुहुन्थ्यो । अनि हामीलाई पनि उठाउनुहुन्थ्यो । ति दिनहरु सम्झिएर एकदमै रमाइलो लाग्छ । अब ति सबै क्षणहरु कहिल्यै फर्किएर आउने छैनन् ।आमासँग बोल्न नपाउदा एकदमै गार्‍हो महशुष हुन्थ्यो । कहिलेकाहीं त फर्किएर नेपाल नै जाउ जस्तो हुन्थ्यो । झन् तीजको बेला सम्झिदा त एकदम मन दुख्थ्यो । मेरो घरतिर तीजका बेला खोलामा गएर नुहाउने चलन थियो । त्यहाँ झन्डै १ सय जना भन्दा बढी मानिसहरु एकै ठाउमा भेला भएर पुजा गथ्र्यौं ।
मलाई पनि ब्रत बस्न मन लाग्थ्यो । पुजा सकेर घर फर्केपछि जब आफैले बनाएको खाना खान्थें तब बुबा र दाईहरु हाँस्नुहुन्थ्यो । विदेशमा त कामले गर्दा ब्यस्त बनाउछ । जब रेलमा यात्रा गरिरहेकी हुन्छु, घरको यादले बिछट्टै सताउछ । सोच्छु, यही रेलमा १०, १२ घन्टा लाग्ने भए नेपाल पुगेर आउन हुन्थ्यो । तर यो सबै सपना मात्र हो ।
स्पेनमा तीज
रीता
 ढुंगाना रेग्मी, स्पेन
यसपालीको तीज हामी सरल तरिकाले मनाउँदैछौं । र, त्यही अनुसार तयारी पनि गरिरहेका छौं । मैले कार्यक्रमको संयोजन गरिरहेकी छु । बार्सिलोनामा नेपालीहरुको उपस्थिीति राम्रै छ । यहा धेरैजसोको परिवार नै छ । यहाँ हरेक नेपाली चाडबाड हामी मनाउँछौं । हामी चाहि यसपाली हाम्रै गाउघरमा गाइने लोकभाका, तीज गीतलाई प्राथमिकता दिएर मनाउने तयारीमा छौं । सम्भबत: हाम्रो तीज कार्यक्रममा प्रस्तुती दिनका लागी नेपालबाट कोमल ओली आउनुहुन्छ होला । कुराकानी भईरहेको छ ।
प्राय: सबैको परिवार यतै हुनाले दसैं, तिहार, तीज, नयाँवर्ष जस्ता चाडबाड वर्षेनी मनाउछांै । बिभिन्न जातजाती र भाषाभाषिका नेपालीहरुको बसोबास हुनाले हरेक चाडबाडमा रौनकता नै अर्कै हुन्छ । जुनसुकै चाडबाडमा पनि एकले अर्कालाई निमन्त्रणा गर्ने, सहभागी हुने चलन छ । हामीले पनि यसपाली सबैलाई दर खान निम्ता दिईसकेका छौं । सबैजना भेला भएपछि दर खाने, शुभकामना आदानप्रदान गर्ने गर्छौं । त्यस्तै एमाले सम्बद्ध प्रबासि नेपाली मन्च, बार्सिलोना, स्पेनले यहाँ ७ वर्षदेखी तीजको कार्यक्रम गर्दै आएको छ ।
मैले नेपालमा हुँदा खासै ब्रत बस्ने काम त गरिन । साथीभाईको लहलहैमा ब्रत बस्न खोज्थें तर भोक लाग्दा फेरी खान मन लागिहाल्थ्यो । हेटौंडामा क्लबले तीजका अबसरमा नाँचगान, नाटक जस्ता कार्यक्रमको आयोजना गथ्र्यो । म त्यसमा जहिल्यै सरिक हुन्थें । परदेशमा भएपछि सबैभन्दा बढी त जन्म दिने आमालाई नै सम्झिने गर्छु । झन् तीजको बेला त बढी नै याद आउछ । साथीभाई, दाजुभाई नेपालका चाडपर्व पनि उत्तिकै सम्झिन्छु ।
नेपालबाट कलाकार आउँदा रमाइलो लाग्छ
प्रतिभा चालिसे, जापान

जापानमा बस्ने नेपालका विभिन्न समुदायका संघ–संस्था यति धेरै छन् कि यहाँ नेपालकै जस्तो झझल्को आउँछ । नेपालका हरेक गाउँ, टोलको नाममा समाज खोलिएको छ, ती समाजबाट आउने निमन्त्रणा पनि त्यति कै हुन्छन् । सप्ताहको अन्त्यतिर मेरो बिदा हुने भएकाले तीज रमाइलो नै हुन्छ । हामी साथीहरू मिलेर नेपाली रेस्टुराँमा तीज गीतमा नाचगान गरेर, दर खाएर रमाइलो गर्छौं ।
यसपालि भ्याएसम्म दुई–तीनवटा कार्यक्रममा जाने योजना छ । नेपाली रेस्टुराँमा दर खाने कार्यक्रम छ । त्यस्तै नेपाली समूहले यहाँ तीजको ठूलो कार्यक्रम आयोजित गर्दैछ । नेपाली समूहले आयोजना गरेको उक्त कार्यक्रममा नेपालबाट कलाकारहरू आउँदैछन् । यसले गर्दा सांगीतिक वातावरण अझ रमाइलो हुनेछ । गत वर्ष छोरी सानी भएकीले कास्की समाजको तीज कार्यक्रममा मात्र सरिक भएकी थिएँ । सानो कार्यक्रम भए पनि धेरै रमाइलो भएको थियो ।
नेपालमा तीज त्यति धूमधामका साथ मनाइएन । दिदी र फुपूहरूसँग दर खाएर मनाइन्थ्यो । अहिले सम्भँmदा विशेष लाग्छ । यसपटक पुराना तीजहरू सम्झिरहेकी छु । त्यतिबेलाका फोटाहरू फेसबुकमा हेर्दा आनन्द लाग्छ ।
इजरायलमा तीज
कमला केसी, इजरायल 

म इजरायल आएको सात वर्ष भयो । यहाँ नेपालको जसरी तीज मनाउन पाइँदैन । खासगरी कार्यव्यस्तताले गर्दा कुनै पनि चाडबाड साइतमै मनाउन पाइँदैन । तैपनि बिदाको दिन साथीसंगी भेला भएर तीज विशेष कार्यक्रममा सहभागी हुन पाउँदा अर्कै आनन्द आउँछ । यसपालि शुक्रबार बिदाको दिन पारेर तेलअविभमै धूमधामसँग तीज मनाउने योजना छ ।






अमेरिकामा तीज
प्रतिभा गौतम न्यौपाने, अमेरिका

यसपालि ७ तारिखमा तीज मनाउने विचार छ । नजिकैको साउथ पार्क रिसोर्टमा ठाउँ बुक गरिसकेका छौं । स–साना नानीहरू त्यहीं खेल्छन् । हामी पनि त्यहीं भेला भएर रमाइलो गर्ने विचार छ । घरबाट खानेकुरा मिलाएर लाने, बाँडेर खाने, नाचगान, रमाइलो गर्ने योजना छ । तीजमा प्राय: सबैको छुट्टी छ । नहुनेहरूले पनि समय मिलाएका छन् ।





क्यानडामा तीज
रमा डोल्कर, क्यानाडा 

म क्यानाडाको टोरन्टोमा बसेको ६ वर्ष भयो । यहाँ पनि नेपालीहरूको उपस्थिति राम्रै छ ।  नेपालमा छँदा पोखरामा खासै तीज मनाइएन । यसपालि भने दुई दिन मनाउने सोचमा छु । टोरन्टोका दुई ठाउँमा कार्यक्रम छ । मिले त दुवै ठाउँमा जान्छु । यहाँ धर्मकर्ममा आस्था राख्नेहरू प्रशस्तै छन् । नेपालजस्तै यहाँ पनि मन्दिरहरू छन् । त्यहाँ पूजा, भजन आदि हुन्छ । स्वदेशकै परिकारहरू रोटी, प्रसाद, लड्डु बनाइन्छ । रमाइलो हुने आशा छ ।





फिनल्याण्डमा तीज
सुरक्षा गैरे, फिनल्याण्ड
गतवर्ष फिनल्याण्डको हेलसिन्कीमा रमाइलोसँग तीज मनाइयो । सबैजनाले घरबाट खाने कुरा पकाएर ल्याइयो, त्यही बाँडेर खायौं । गीत गाईयो, नाँचियो, फोटो खिचियो । यसपालीको तीजमा आफन्तजनहरुले तीजको दर खान बोलाएका छन् । साथीहरुसँगै रमाइलो गरेर मनाउने तयारीमा छु ।
नेपालमा तीज मनाएको, आफन्त, घर, परिपार र साथीसंगीहरुसँग रमाइलो गरेको, नाँचेको, तीजमा घरमा आउने चेलिबेटीहरुका लागी आमासंग सपिङ गर्न बजार गएको खुब मिस गर्छु । सानो हुँदा गाउमा तीजको दिन एउटा स्कुलमा सबैजना जम्मा भएर मज्जाले नाँचेको दिन झनै मिस हुन्छ । नेपालमा जस्तो मन्दिर जान यहाँ पाइदैन । त्यो चैं नरमाइलो लाग्छ ।